फेसबुकले यसरी पक्रायो क्षेत्री दाजुभाइलार्इ
Advertisement
फोटो :चार अर्ब रुपैयाँ ठगी प्रकरणमा फरार युनिटी लाइफ इन्टरनेसनलका प्रबन्धनिर्देशक विष्णुबहादुर क्षेत्री र तालिम निर्देशक कृष्णबहादुर क्षेत्री । तस्बिर: अन्नपूर्ण
युनिटी ठगी प्रकरण
काठमाडौं: झन्डै चार अर्ब रुपैयाँ ठगी प्रकरणमा फरार युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका प्रबन्धनिर्देशक विष्णुबहादुर क्षेत्री र तालिम निर्देशक कृष्णबहादुर क्षेत्री आफैंले थापेको बल्छीमा परेका छन्।
२०६७ जेठ ३ गते फरार क्षेत्री दाजुभाइ भारतको उत्तराञ्चल प्रदेशमा माछापालन गरेर बसेको अवस्थामा नेपाल प्रहरीले शुक्रबार पक्राउ गरी धनगढीबाट जहाजमार्फत काठमाडौं ल्याएको छ।गत असारमा कृष्णले आफ्नो दाजु विष्णुको गोली हानी हत्या भएको भन्दै फेसबुकमा पोस्ट गरेका थिए।
प्रहरीले कतैबाट विष्णुको हत्या भएको पुष्टि गर्न सकेको थिएन। कृष्णले दाजु विष्णुको मृत शरीर भन्दै फोटोसहित फेसबुकमा पोस्ट गरेपछि महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान सुरु गरेको थियो।
परिवार र सम्पर्कसूत्रमा समेत प्रहरीले अनुसन्धान गरेपछि उनीहरू भारतको उत्तराञ्चल प्रदेशमा रहेको पुष्टि भएपछि महाशाखाले प्रहरी निरीक्षक सुदीप पाठकको टोलीलाई भारत पठाएको थियो।नारायणी अञ्चलमा रहँदा भारतीय प्रहरीसँग समेत सहयोग आदानप्रदान गरिसकेको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले क्षेत्री दाजुभाइलाई पक्राउ गर्न भारतीय प्रहरीको समेत सहयोग लिएका थिए।
प्रहरी निरीक्षक पाठक उत्तराञ्चल पुग्दा क्षेत्री दाजुभाइले माछापालनको फार्म सञ्चालन गरेर बसेका थिए। उक्त फार्ममा भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले रेड गरेर उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको स्रोतले बताएको छ। ( युनिटीका सञ्चालक क्षेत्री दाजुभाइ भारतबाट पक्राउ )
तर प्रहरीले भने क्षेत्री दाजुभाइलाई कञ्चनपुर भीमदत्त नगरपालिकास्थित गड्डाचौकीबाट नियन्त्रणमा लिएको बताएको छ। घटनाबारे जानकारी दिन शुक्रबार महानगरीय प्रहरीमा आयोजित पत्रकार सम्मेलनमा एआईजी विज्ञानराज शर्माले प्रहरीको मोस्ट वान्टेड र रेड कर्नर नोटिस जारी भएका फरार सूचीका दाजुभाइको खोजतलासका क्रममा गड्डाचौकीमा फेलापरेपछि पक्राउ गरिएको बताए।
राष्ट्रबैंकको अनुमतिबिना ललितपुरमा सञ्चालित युनिटीका सञ्चालक समितिका सबै सदस्य तीन लाख ६६ हार तीन सय ४२ जनाको तीन अर्ब ७९ करोड ८९ लाख ७० हजार एक सय तीन रुपैयाँ ठगी फरार भएका थिए।क्षेत्री दाजुभाइविरुद्ध प्रहरीले २०६८ फागुन २ गते इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरेको थियो।
क्षेत्री दाजुभाइको ललितपुर, स्वयम्भू, इटहरी, चितवन, बागलुङ, धनगढी र नवलपरासीमा जग्गा छ भने इलाम, इटहरी, धरान र हेटौंडामा अस्पताल छ । एक वर्षदेखि भारतमा माछा फार्म सञ्चालन गरेका क्षेत्री दाजुभाइले भारतीय रासन कार्डसमेत लिएर बसेको बताइएको छ।
Advertisement