गगन थापाले आफ्नो चुनाव क्षेत्रमा के-के गरे विकास ?
Advertisement
२४ असार, काठमाडौं । कांग्रेसका युवा नेता गगनकुमार थापा काठमाडौं क्षेत्र नं ४ बाट प्रत्यक्ष निर्वाचित सभासद हुन् । उनको निर्वाचन क्षेत्रमा चालु आर्थिक वर्षको १ करोड १५ लाख रुपैयाँ कहाँ कहाँ खर्च भयो होला ?
संसद सचिवालय स्रोतबाट प्राप्त विवरण अनुसार थापाको निर्वाचन क्षेत्रमा ‘निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम’ अन्तरगतको एक करोड रुपैयाँ विभिन्न १० वटा आयोजनामा खर्च गरिएको छ ।
बाटो, पुल, पोखरी मर्मत, पार्क निर्माण र क्रिकेट मैदान सम्याउने कार्यमा १ करोड रुपैयाँ विनियोजन भएको देखिन्छ । काठमाडौंका अन्य सभासदले जस्तै थापाले मन्दिर निर्माणका लागि पनि मन फुकाएर बजेट दिएका छन् ।
थापाको चुनाव क्षेत्रमा भएको १ करोडको बाँडफाँड यस्तो छ :
१ | जंगलादेवी ढल बाटो निर्माण | १० लाख |
---|---|---|
२ | चुनिखेल सापाटार सडक निर्माण | १२ लाख |
३ | रुद्रमति चोक नर्सरी खहरे सडक निर्माण | १० लाख |
४ | पञ्चकन्या वालमैत्री पुल निर्माण | १० लाख |
५ | बाँकोट कुमारी मन्दिर संरक्षण तथा पार्क निर्माण | ७ लाख |
६ | नित्यनाथ मन्दिर निर्माण-तिलगंगा) | ११ लाख |
७ | नारायणमार्ग सडक ग्राभेल तथा कालोपत्रे | १० लाख |
८. | हिटी पोखरी मर्मत सम्भार | १० लाख |
९ | वौद्धस्तुपा उत्तर गणेस्थान जाने बाटो ढुंगा छपाइ | १० लाख |
१० | सूवर्णसमशेर क्रिकेट मैदान सम्याउने कार्य | १० लाख |
त्यसैगरी सभासद थापाले आफ्नो निर्वाचन क्षेत्रमा सांसद विकास कोषअन्तरगतको १५ लाख रुपैयाँ विभिन्न १८ वटा कार्यक्रममा खर्च गरेका छन् ।
ज्योतिनगर भीमेश्वर पक्की सडक निर्माणका लागि २ लाख ५० हजार दिइएको छ । त्यस्तै मैजुबहाल खानेपानी योजना सुधारमा ८५ हजार विनियोजन गरिएको छ । ऊँ शान्ति मार्ग सडक निर्माणका लागि २ लाख ५० हजार दिइएको छ भने तैलुङ चौकीडाँडा सडक निर्माण हृयुमपाइप खरिदका लागि १ लाख छुट्याइएको छ ।
भंगाल बाटो निर्माणका लागि १ लाख र नरकोटी मसानघाट निर्माणका लागि सभासद थापाले डेढ लाख छुट्याएका छन् । त्यस्तै सेतोकान कराँते कभर्ड हल निर्माणमा १ लाख, विन्ध्यवासिनी मन्दिरको भवन प्लाष्टरमा १ लाख र सिद्धेश्वर क्षेत्र खानेपानी उपभोक्ता समितिका लागि १ लाख सभासद थापाले छुट्याएका छन् । घटपाटी निर्माण, ब्लक छाप्ने कार्य र सांस्कृतिक बाजा खरिदमा डेढ डेढ लाख छुट्याइएको छ ।
गगन थापाले अनलाइन कोर्ष सम्बन्धी पूर्वाधार व्यवस्थापन शीर्षकमा दुईलाख रुपैयाँ छुट्याएका छन् । त्यस्तै महिला नेतृत्व विकास तालिममा १ लाख २ हजार ५ सय छुट्याइएको छ भने सामाजिक न्यायको लागि समाज नामक संस्थालाई सीपमूलक तालिमका लागि ७५ हजार दिइएको छ ।
सभासद थापाले आमा समूहलाई सीपमूलक तालिमका लागि ७५ हजार र नारी चेतना सशक्तीकरण समूहलाई दुव्र्यसनी सम्बन्धी चेतनामूलक कार्यक्रमका लागि ७५ हजार दिएका छन् ।
Advertisement