बाढीले सोती बजार विस्थापित
Advertisement
फोटो :बुढीगणडकीमा आएको बाढीले बगाएको घर। तस्बिर:शिवप्रसाद उप्रेती
गोरखा: बुढीगण्डकीको बाढीले बिहीबार रातिदेखि बजारक्षेत्र कटान गर्न थालेपछि थुमी गाविस-६ सोती बजार बिस्थापित भएको छ।
राति १२ बजेदेखि गण्डकीले बजारतिर कटान गर्नै आएपछि ३३ घर बिस्थापित भएको स्थानीय होटल ब्यासायी सपना पन्तले जानकारी दिइन्।
सबै घरका बासिन्दा अहिले बजारभन्दा केही माथिको केओरपानी र भलाकस्वाँरामा सरेर बसेको पन्तले बताइन्।
‘राति गण्डकी बेस्सरी गड्डगाएर आएको थाहा पायौं' उनले भनिन् 'त्यही बेलादेखि सबैजना उठेर जंगल क्षेत्रमा सर्यौं । बिहान भएपछि सेना र प्रहरीको सहायताले सामान सारेर बसेका छौं।'
गण्डकीको बाढी बजारको पुछारको घरबाट पाँच छ मिटर नजिक आइपुगेको उनले बताइन्। अहिले भने कटान रोकिएको उनको भनाइ छ।
‘बिहान भएपछि पानी पर्न रोकियो अनि बाढी पनि रोकिएको छ' उनले भनिन्, 'फेरि पानी पर्न थालेपछि खोला पनि बढ्न थाल्छ। हामी डरत्रासमा छौं। रातभरी पनि झिमिक्क आँखा लगाएको छैन।'
गाउँलेले खबर गरेपछि बिहान मान्बुमा रहेको नेपाली सेनाको १० जनाको टोली र आर्खेतमा रहेको प्रहरीको टोली उद्धारका लागि गएका भैरवी दल गणका गणपति प्रमुख सेनानी प्रेमबहादुर थापाले जानकारी दिए। उनीहरुले घरको सामान सार्न मद्धत गरिरहेको उनले बताए।
घटनास्थलतर्फ आरुघाट इलाका प्रहरी कार्यालयबाट ११ जनाको टोली खटाइएको त्यहाँका प्रहरी निरीक्षक रविन्द्र खनालले जानकारी दिए।
बजारको बायाँतर्फ रहेको सोतीखोलामा ठूलो बाढी गएर गण्डकीमा मिसिएपछि खोलाको सतह उकासिएर बजारतिर कटान सुरु भएको उनले बताए।
'सोती खोला पनि बढ्यो, बुढीगण्डकी पनि बढ्यो।' उनले भने 'बढेको सोतीखोला बढेको गण्डकीमा पुगेपछि त्यहाँको भूभाग उकासियो।
अनि पानी बजारक्षेत्रमा पसेको हो।' बजारक्षेत्र कटान भएपछि अब सोती बजार माथिल्लो क्षेत्रमै सर्ने उनले बताए।
Advertisement