श्री एयरले भित्र्यायो नयाँ एयर कन्डिसन (एसी) जडित हेलिकोप्टर
Advertisement

२५ असार, काठमाडौं । विगत १५ वर्षदेखि हेलिकोप्टर व्यवसाय सञ्चालन गरिरहेको श्री एयरलाइन्सले नयाँ एयर कन्डिसन (एसी) जडित हेलिकोप्टर भित्र्याएको छ ।
Shree-Airlines
नयाँ एसीयुक्त हेलिकोप्टरका लागि साढे २६ करोड रुपैयाँ लगानी भएको श्री एयरका अध्यक्ष वनवरीलाल मित्तलले अनलाइनखबरलाई जानकारी दिए ।
मित्तलका अनुसार कम्पनीले भित्र्याएको हेलिकोप्टर युरोपको जहाज निर्माता कम्पनी एयरबसले उत्पादन गरेको सन् २०१५ को नयाँ ३५० बी ३ ई मोडलको हो ।
हालसम्म नेपालमा एसी जडित हेलिकोप्टर नभएको श्री एयरका अध्यक्ष मित्तलको दाबी छ ।
‘स्तरीय पर्यटक तथा ग्राहकलाई लक्षित गरेर नेपालमै पहिलोपटक एसीयुक्त हेलिकोप्टर ल्याएका हौं,’ मित्तलले भने ।
धेरै विदेशी पर्यटकहरुले एयर कन्डिसन नहुँदा यात्रा आरामदायी हुन नसकेको गुनासो गरेपछि एसीयुत्तल हेलिकोप्टर ल्याइएको उनले जानकारी दिए ।
पाइलटबाहेक ६ सीट क्षमता रहेको यो हेलिकोप्टर २३ हजार फिटको उचाइसम्म उड्न सक्ने बताइएको छ ।
डेढ महिनाअघि नै नेपाल भित्र्याइएको नयाँ हेलिकोप्टरले आधा दर्जन व्यावसायिक उडान गरिसकेको मित्तलले जानकारी दिए ।
कम्पनीले ५ वटा हेलिकोप्टर किन्ने सम्झौता गरेको थियो । यो नयाँ जहाजसमेत गरी ४ वटा हेलिकोप्टर भित्र्याएको हो । नयाँ हेलिकोप्टर ल्याएसँगै कम्पनीमा हेलिकोप्टरको संख्या १० पुगेको छ । आवश्यकता अनुसार हेलिकोप्टर थप्दै जाने मित्तलले बताए ।
‘हेलिकोप्टर व्यवसायमा खासै नाफा छैन तर भविश्य छ, आवश्यकताअनुसार हेलिकोप्टर थप्दै जाने कम्पनीको योजना छ ।’ उनले भने ।
बैंकको ब्याज खर्च र हेलिकोप्टरको बीमा गराउँदा लाग्ने बीमाशुल्क उच्च भएको मित्तलले गुनासो गरे ।
नयाँ हेलिकोप्टरको विषेशता
नयाँ हेलिकोप्टरमा शक्तिशाली इन्जिन भएको मित्तलको दाबी छ । त्यसैगरी कम्पन र आवाज कम गर्ने डिभाइस जोडिएको र एसी भएकाले नयाँ हेलिकोप्टरको यात्रा निकै आरामदायी हुने उनले बताए ।
एक घण्टाको भाडा तीन लाखसम्म
नयाँ हेलिकोप्टरको एक घण्टाको भाडा तीन लाख रुपैयाँसम्म लिने मित्तलले जानकारी दिए ।
‘आगामी केही समय एक घण्टाको भाडा २ लाख ५० हजारदेखि ६० हजार लिन्छौं’ मित्तलले भने- ‘लागत महंगो भएकाले पछि भाडा बढाउने सोच छ ।’
बढ्दैछन् नेपाली उपभोक्ता
मित्तलले हेलिकोप्टर प्रयोग गर्ने नेपालीहरुको संख्या बढ्दो प्रवृत्तिमा रहेको बताए । ‘पहिला पहिला हेलिकोप्टर भाडामा लिने नेपालीहरु कम हुन्थे । विदेशी पर्यटकको भर पर्नुपथ्र्यो’ उनले भने- नेपालीहरुको आम्दानी बढेकाले हेलिकोप्टरको प्रयोगकर्ताहरु पनि बढिरहेका छन् ।’
नेपालमा निजी क्षेत्रका डेढ दर्जन हेलिकोप्टर छन् । हाल कुल हेलिकोप्टर प्रयोग गर्नेमध्ये २० देखि ३० प्रतिशत नेपाली रहेको मित्तलको भनाइ छ । ‘हालको नाफाभन्दा पनि भविष्य देखेर यो व्यवसायमा लगानी थपेको हुँ’ मित्तलले भने ।




Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.