प्रचण्ड आज दिल्ली गएर , मोदीसँग भेट्नु को कारण यस्तो पो रहेछ ??
Advertisement

त्रिपक्षीय समझदारी बनाउन भ्रमण केन्द्रित
 
काठमाडौं: आफूले उठाउँदै आएको त्रिदेशीय समझदारीमार्फत आर्थिक विकास गर्ने रणनीतिका लागि प्रमुख प्रतिपक्षी दल एमाओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल मंगलबार अपराह्न नयाँदिल्ली जानका लागेका छन्। 
 
विनाशकारी भूकम्पपछि नेपालको पुनर्निर्माणमा त्रिदेशीय समझदारी विकास गरेर अघि बढ्न भारतको बलियो समर्थन खोज्न आफू भारत भ्रमणमा जान लागेको दाहालले प्रस्ट पारेका छन्।
 
'भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भारत,चीन र नेपालसहितको त्रिदेशीय समझदारी विकास गरेर अघि बढ्ने बारेमा भएको सकारात्मक प्रगतिपछि यसबारेमा ठोस र मूर्त छलफल गरिन्छ', दाहाललाई उद्धृत गर्दै उनका स्वकीय सचिव चूडामणि खड्काले अन्नपूर्णसँग भने। 
 
भारतीय प्रधानमन्त्री मोदीले गत वैशाखजेठमा गरेको चीन भ्रमणमा चिनियाँ राष्ट्रपति सीले त्रिदेशीय समझदारी विकासका बारेमा प्रस्ताव राखेका थिए भने प्रधानमन्त्री मोदी र राष्ट्रपति सीबीच भएको छलफलमाथि भारतीय विदेशमन्त्री सुष्मा स्वराज र चिनियाँ विदेशमन्त्री वाङ यी बीच दुई साताअघि काठमाडौंमा 'फलोअप बैठक' भएको थियो। 
 
त्रिदेशीय समझदारी विकास गर्नका लागि सकारात्मक वातावरण बन्दै गएको दाहालको ठम्याइ छ। दाहालले भूकम्पपछिको पुनर्निर्माणमा नमुना कायम गरेको गुजरातको भुज जाने कार्यक्रम पनि बनाएका छन्। 
 
'भूकम्पपछिको पुनर्निर्माण कसरी भएको रहेछ, त्यहाँको आर्थिक प्रगतिको अध्ययन, अवलोकन र अनुभव लिन अध्यक्ष भुज पनि जानुहुन्छ', खड्काले भने। उनका अनुसार त्रिदेशीय समझदारीका बारेमा प्रधानमन्त्री मोदीसँग अध्यक्ष दाहालले ठोस र मूर्त रूपमा छलफल गर्नेछन्।
 
भ्रमणका क्रममा प्रमुख चार दलका बीचमा भएको १६ बुँदे सहमतिका आधारमा अगाडि बढेको संविधान निर्माण प्रक्रियामा भारतको समर्थन खोज्ने प्रयास पनि दाहालले गर्नेछन्। दाहालले प्रधानमन्त्री मोदी, राष्ट्रपति डा. प्रणव मुखर्जी र अन्य राजनीतिक दलका नेता तथा बुद्धिजीवीहरूसँग पनि संविधान निर्माण प्रक्रियाका बारेमा छलफल गर्ने खड्काले बताए। 
 
स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदीले नेपाली राजनीतिको प्रत्यक्ष 'अपडेट' दलका नेताहरूबाट लिने क्रममा दाहाललाई दिल्ली आमन्त्रण गरेका हुन्। नेपालको राजनीतिक अवस्था र संविधान निर्माण प्रक्रियाबारे आफ्नो प्रशासनिक संरचनाबाट सन्तुष्ट हुन नसकेपछि मोदीले दाहाल, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि दिल्लीमा आमन्त्रण गरेका छन्।
 
दाहालले भारत र चीनबीचको सम्झौतामा उल्लेख गरिएको लिपुलेक र नेपालभारत सीमा विवादबारे पनि छलफल गर्ने खड्काले बताए। केही दिनअघि दाहालले काठमाडौंस्थित भारतीय दूतावासमार्फत सन १८१६ को सुगौली सन्धिको स्मरण गराउँदै लिपुलेकका बारेमा भारत र चीन बीचको सम्झौता सच्याउन आग्रह गरिएको पत्र मोदीलाई पठाएका थिए।
 
खड्काका अनुसार भारत —नेपाल सम्बन्ध र भारत' माओवादीबीचको दुईपक्षीय सम्बन्धका बारेमा पनि अध्यक्ष दाहालले प्रधानमन्त्री मोदीसँग छलफल गर्नेछन् । काठमाडौंस्थित भारतीय दूतावासले दाहाललाई उनको भ्रमण कार्यतालिका जानकारी गराएको छ। 
 
भारतीय राजदूत रन्जित रायले सोमबार उनकै निवास लाजिम्पाटमा भेटेर दाहाललाई भ्रमण कार्यक्रमका बारेमा जानकारी गराएका हुन्। भारतीय रक्षा मन्त्रालयको थिंक ट्यांक संस्था मानिने इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालिसिस (आइडीएसए) द्वारा शुक्रबार (१७ जुलाई) आयोजित कार्यक्रममा दाहालले प्रवचन दिने कार्यक्रम छ। 
 
नेपालका लागि पूर्वभारतीय राजदुत जयन्त प्रसादले पनि सो कार्यक्रममा प्रवचन दिनेछन्। दाहालले गर्न लागेको दिल्ली भ्रमणको जानकारी परराष्ट्र मन्त्रालयको प्रोटोकल र दक्षिण एसिया शाखालाई लिखित र मौखिक रूपमा गराइएको एमाओवादीको अन्तर्राष्ट्रिय विभागका कार्यालय सचिव युवराज चौलागाईंले बताए।
 
'हाम्रो पार्टीले मन्त्रालयका सम्बन्धित शाखालाई जानकारी र आवश्यक सहयोग गरिदिन अनुरोध गर्दै पत्राचार नै गरेको छ। 'संविधानको मस्यौदा लिएर आफ्नो निर्वाचन क्षेत्रमा जाने बेलामा दिल्ली भ्रमण गरेकोमा आलोचना भइरहँदा सिरहाबाट निर्वाचित सभासद्समेत रहेका दाहालको भ्रमण तय भएको छ। 
 
एक साताको दिल्ली भ्रमण टोलीमा दाहालले पत्नी सीता दाहाल, ज्वाइँ अर्जुन पाठक र सहयोगी शिव खकुरेललाई सहभागी गराएका छन्। पूर्वनिर्धारित पाँचदिने भ्रमण लम्ब्याएर सात दिन बनाएका दाहालले पार्टीको अन्तर्राष्ट्रिय विभागका सदस्यलाई पनि सहभागी गराएका छैनन्। 
 
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय विभागबाट एकजनालाई भ्रमण टोलीमा सहभागी गराउन दाहाललाई आग्रह गरेका थिए। स्रोतका अनुसार दाहालले 'अहिले सम्भव भएन' भन्ने जबाफ दिएका थिए। सीता एमाओवादी सल्लाहकार हुन् भने पाठक र खकुरेल राज्य समिति सदस्य हुन्।




Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.