सुनिता गौतम (मुइयाँ)को हनिमुन: दिन बितेको पत्तै भएन
Advertisement
६ वर्षअगाडि निशान बजगाईंसँग विवाह भयो। हाम्रो पहिल्यैदेखि प्रेम थियो। त्यसैले होला, विवाहपछिको सम्बन्धका बारेमा त्यति धेरै कौतूहल थिएन र धेरै नौलो अनुभव पनि भएन। तर पनि विवाहपछिको अनुभूति विवाहअगाडिको भन्दा फरक हुन्छ।
विवाहअघि उहाँ मेरो प्रेमी, विवाहपछि श्रीमान् । हाम्रो चिनजान पनि पहिलेदेखिकै थियो। उहाँ मेरी फुपूको देवर। त्यसैले चिनजानमै विवाह भएकाले परिवार पनि नौलो भएन।
प्रेमसम्बन्धमा रहँदा भन्दा विवाहपछिको निकटता फरक किसिमको थियो। जीवन नै उहाँप्रति समर्पित भएको महसुस भइरहेको थियो। शारीरिक सम्बन्धले वैवाहिक सम्बन्धमा झनै मिठास थपेको अनुभव गरेँ।
विवाहपछि १६ दिनसम्म हेटौंडास्थित घरमै बस्यौं। त्यसपछि काठमाडौं आयौं। अन्य सामान्य नवविवाहित जोडीजस्तै हामीले पनि विवाहपछिको केही समय रमाइलो र फरक ढंगले बिताउने विचार गर्यौं। त्यो समय थियो, 'हनिमुन'।
वास्तवमै हनिमुनको जस्तो समय फेरि जीवनमा आउँदो रहेनछ। पछिल्ला समयको घुमाइमा हनिमुनको स्वाद आउँदैन। फेरि त्यसैगरी घुम्न मन छ।
हामीलाई हनिमुन जाने अवसर विवाहको एक महिनापछि मिल्यो। कहाँ जाने भन्ने छलफल गर्दै जाँदा दुवैजनाको रोजाइमा पोखरा नै पर्यो। पाँच दिन पोखरामा बितायौं। ताल, गुफा घुम्न गयौं।
पोखरा पुगेपछि सराङकोट जाने ठूलो रहर थियो तर त्यहाँ जान खोज्दा माथिसम्म गाडी नपुग्ने भएपछि जान पाएनौं । हनिमुनको त्यो समय जीवनको सबैभन्दा मीठो समय थियो। मलाई सरप्राइज गिफ्ट एकदम मन पर्छ।
हनिमुनको सुनौलो समयमा मलाई मन पर्ने सरप्राइज गिफ्ट पाएँ। श्रीमान्ले मोतीको लकेट भएको सिक्री र प्याजी रङको नाइटी उपहार दिनुभएको थियो। त्यो उपहारले दिएको खुसीको त बयान नै गर्न सक्दिनँ। मैले पनि उहाँलाई घडी उपहार दिएको थिएँ।
हाम्रो प्रेम सफल भएर विवाह भएको थियो। हामी दुईको चाहना पूरा भएको थियो। वास्तवमै त्यो समय हामी असाध्यै खुसी थियौं । हामी हाम्रा वरपरका व्यस्ततालाई थाती राखेर हनिमुनमा निक्लेका थियौं।
रमाइलो पोखरामा सपनामा सजाएको मान्छेसँग घुम्न पाउँदा किन खुसी नहुनु ? पोखराका विभिन्न रमाइला ठाउँमा एकअर्काको हात समाएर, अँगालो मार्दै घुमियो, फोटो खिचाएर असाध्यै रमाइलो गरेका थियौं। हुन त त्यो समयमा त जे गरे पनि रमाइलै लाग्दो रहेछ।
हामीसँग अर्को नवविवाहित साथीको जोडी थियो। दुई जोडी भएर घुम्दा पाँच दिन बितेको पत्तै भएन। हामी दुवैलाई थकाली खाना मन पर्ने भएकाले खानामा पनि विचार मिल्थ्यो।
घुम्दा प्रायः क्याजुअल लुगा नै लगाएर घुमेँ। त्यसपछि पनि धेरैपटक घुम्न गइसक्यौं। हामी प्रायः घुम्न गइरहन्छौं। अहिले त बच्चालाई लिएर धेरै घुम्न जान्छौं।
Advertisement