(गोमाको पत्र पढ्नुस्) श्रीमती कुवेतको जेलमा, म नवलपरासीको मिलमा
Advertisement
(कावासोती) नवलपरासी, साउन ७– ‘मैले कुनै कसुर गरेकी छैन, म अनाहकमा जेल परें, मलाई बचाउनुस्,’ कुवेतको हिरासतबाट गोमा दराईले सात महिनाअघि श्रीमान गोपाल दराईलाई पत्र लेखेकी थिइन् । (गोमाको पत्र फोटोमा पढ्नुस्) पत्र पढिनसक्दै गोपाल स्तब्ध भएका थिए ।
कावासोती–१० मगरकोट, नवलपरासीकी गोमा दुई वर्षअघि कुवेत गएकी थिइन्, पैसा कमाएर श्रीमानलाई सघाउँछु र छोराछोरीको भविष्य उज्यालो बनाउँछु भनेर । छोराछोरीको भविष्य उज्ज्वल बनाउने सपना सजाएर पराइको भूमिमा पुगेकी गोमा उल्टै जेलको अँध्यारो कोठामा पुगिन् । उनी जेल परेको खबर आएको आज सात महिना भयो । गोपाल त श्रीमती नै घरमा पर्खाइमा छन् । तर, यो गोपालको चाहना मात्रै हो । कठोर कानुनको परिबन्दमा परेकी उनी पत्नी गोमा जेलबाट छुट्ने आधार बनिसकेको छैन । श्रीमतीको उद्धारमा सरकारको सहयोग पर्खनुबाहेक गोपालसँग कुनै विकल्प छैन ।
गोमाका दुई छोरा, दुई छोरी छन् । श्रीमान् गोपाल गाउँकै मिलमा काम गर्छन् । मजदुरी गरेरै परिवार पाल्नुपथ्र्यो, खेती गर्ने जमिन छैन । त्यसैले गोमा विदेश जाने सोचिन्, ४० वर्षको उमेरमा । कुवेतमा दुई वर्ष काम गरेर पनि फर्किन् ।
‘पहिलोपटक केही कमाएर फर्किन् । हामीले पनि केही होला भन्ने आशा गर्यौँ,’ श्रीमान् गोपालले भने, ‘कुवेतबाट फर्केर बहराइन गइन् । बहराइनबाट आठ महिनामै फर्केर कुवेत गएकी हुन् । गएको केही महिना फोनमा कुरा भएको थियो । त्यसपछि कुरा हुन छाड्यो, एकैचोटि जेल परेको खबर आयो ।’
कसरी परिन् जेल ?
कुवेत अदालतले गोमालाई लागुऔषध ओसारपसारको आरोपमा २५ वर्षको जेल सजाए सुनाएको छ ।
गोमा घरेलु कामदारको रूपमा ०७० असोजमा कुवेत पुगेकी हुन् । कुवेत पुगेको १८ महिनासम्म उनको काम राम्रै चलेको थियो । परिवार पनि खुसी थिए । घरमा पैसा पठाइरहेकी थिइन् । बेलाबेला घरमा फोन गर्थिन् । काम राम्रै भएको बताउँथिन् । गत असोजपछि उनको फोन आउन छाड्यो । गोमाका छोरा जेठा छोरा आशिष भन्छन्, ‘आमाले असोजमा फोन गर्दा भन्नुभएको थियो, आज काम गर्ने घरको मालिकसँग झगडा भएको छ ।’
गोमाका परिवारका अनुसार घरबेटीले गोमालाई आधा किलोको एउटा प्याकेट राख्न दिएछन् । प्याकेट राख्न दिएको १० मिनेट नबित्दै प्रहरी आएर खानतलासी गरेछ । खानतलासीपछि त्यो आधा किलोको प्याकेट लागुऔषध भएको थाहा भएछ ।
पक्राउ परेपछि गोमाले आफू निर्दोष रहेको बताइन् । तर, बिरानो देशमा उनको हारगुहार सुन्ने कोही भएन । प्रमाणसहित पक्राउ परेकाले अदालतले उनलाई २५ वर्ष जेल सजाए सुनायो । घरबेटीले मन नपराएकै कारण गोमालाई फसाएको परिवारको भनाइ छ ।
‘मेरी आमा अहिले ४४ वर्ष पुग्नुभयो । त्यस्तो गैरकानुनी काम गर्नुहुन्छ भन्ने हामीलाई विश्वासै छैन,’ जेठा छोरा आशिषले रातोपाटीलाई भने, ‘मेरी आमालाई फसाइएको हो । पक्राउ परेपछि पनि फोन गरेर भन्नुभएको थियो, मलाई मालिकले फसाउन खोजेका छन् ।
गोमा पक्राउ परेको खबर पाएलगत्तै परिवारले नवलपरासी कावासोतीस्थित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा सम्पर्क गरी उद्धारको पहल गरिदिन आग्रह गरेको थियो । अहिलेसम्म उनको गोमाको उद्धार हुन सकेको छैन ।
म जहानको पर्खाइमा छु : गोपाल दराई
पहिलोपटक ०६६/६७ तिर कुवेत गएकी हुन् । त्यहाँ दुई वर्ष बसिन् । थोरैधेरै कमाएर पनि आइन् । घर फर्केको केही महिनामै उनी बहराइन् गइन् । बहराइनमा धेरै लामो समय बसिनन् । के कुरा नमिलेको हो, मलाई थाहा भएन । आठ महिनामै फर्केकी हुन् । केही न केही त गर्नुपर्ने भयो भनेर फेरि उनी काठमाडौं हानिइन् । भृकुटीमण्डपमा होटल चलाउन थालिन् । खाजा बेच्ने होटेल थियो । पार्टनरसिपमा चलाएको भन्थिन् । पछि कुरा मिलेनछ र होटल बेचिन् । फेरि घर फर्किइन् । त्यसपछि पनि काठमाडौं गएर केही समय बसिन् ।
उतैबाट कुवेत जाने मेसो मिलेछ र गइन् । हामीलाई जानेबेला फोन गरेकी थिइन् । पछिल्लोपटक जाँदा कति खर्च लाग्यो, हामीलाई थाहा भएन । कसरी, कहाँबाट गएकी हुन्, हामीलाई थाहा भएन । कुवेत पुगेपछि एक–दुईपटक फोनमा कुरा भएको थियो । गएको असोजदेखि कुरा भएको छैन ।
फोनमा कुराकानी हुन छाडेपछि मैले उनको बारेमा सोधखोज गरेँ । ठूली छोरीलाई काठमाडौं पठाएँ । कसले पठाएको हो, कसरी पठाएको भनेर छोरीले खोजिन् । तर, पठाउने मेनपावरले स्पष्ट जवाफ दिएनछ । छोरी त्यत्तिकै फर्किइन् । पछि उनी टुरिस्ट भिसामा गएको सुनियो । धेरैपछि मात्रै उनी पक्राउ परेको, जेल परेको हल्ला सुनियो । त्यही भएर सम्पर्क भएको रहेनछ ।
म अहिले अर्काको मिलमा काम गर्छु । दिनमा आठ–नौ घन्टा काम गर्नुपर्छ । अलिअलि तलब छ, यसैले घर खर्च चलाएका छौँ । अहिले घरमा छोरा, छोरी र म गरी तीनजना छौँ । एउटी छोरीको बिहे भयो । कान्छो छोरो काठमाडौंमा अर्काको घरमा काम गर्छ ।
हामी उनको पर्खाइमा छौँ । जेलमा परेको खबर पाएदेखि नै हामीले यहीँ कावासोतीमा उनको उद्धार गर्न आग्रह गरेका थियौँ ।
कसरी छुटाउने हो ? कहाँ जाने ? कसलाई भन्ने केही थाहा छैन । चिनेका ठूला मान्छे पनि कोही छैनन् । अहिलेसम्म सरकारका मान्छे पनि खबर बुझ्न आएका छैनन् ।
छोराछोरी आमालाई सम्झेर बसेका छन् । जहान पराईको भूमिमा जेलमा परेकी छिन्, म यता मिलमा घोटिइरहेको छु । जहान कुरिरहेको छु । उनलाई कसरी बोलाउने हो, केही थाहा छैन । पैसा पनि छैन । दौडधुप गर्न पनि पाउँदिनँ । सरकार र ठूलो मन भएको मान्छेले सहयोग गर्ला कि भनेर आशा गरेको छु ।
Advertisement