कास्कीकाे लुम्ले र भदाैरेमा भीषण पहिरो, १२ को मृत्यु, २७ घर पुरिए
Advertisement

१४ साउन, पोखरा । अविरल वर्षासँगै अाएकाे पहिराेले कास्कीमा ठूलाे मात्रामा धनजनकाे क्षति भएकाे छ ।  कास्कीको भदौरे तामागी र लुम्लेमा छुट्टाछुट्टै पहिरोले १२ जनाको ज्यान गएको छ भने १५ जनाभन्दा बढी बेपत्ता भएका छन् ।
राति मानिसहरू सुतेका बेलामा गएको पहिरोले लुम्लेमा ८ जना र भदौरे तामागीमा ४ जनाको ज्यान गएको हो । दुवै ठाउँमा गरी २७ भन्दा बढी घर पुरिएका छन् ।
घटनास्थलबाट २० जना घाइतेको उद्धार गरिएको छ । पुरिएका घरहरूमा सुरक्षाकर्मी पुगेर उद्धार थालेका छन् । तर, पुलसमेत बगेकाले उद्झारमा कठिनाइ भएकाे छ । भूकम्पले कमजाेर बनाएकाे जमीनमा पहिराे गएकाे अनुमान गरिएकाे छ ।
लुम्लेकाे वडा नम्बर ४ र ६ मा पर्ने साङ्लेभीर खसेर च्यानबारेदेखि न्याउरिनथानसम्मका घर पुरिँदा  पाँच जना घाइते भएका छन् । उनीहरुको उद्धार गरेर प्राथमिक उपचार गरिए पनि थप उपचारका लागि बाटो अबरुद्ध हुँदा पोखरा ल्याउन समस्या भएको कास्की प्रहरीले जनाएको छ । त्यहाँ पहिरोले ११ घर बगाएको छ भने २ घरमा आंशिक क्षति पुगेको स्थानीय शिक्षक वीरेन्द्र गुरुङले जानकारी दिए ।
पहिरोले पोखरा-वागलुङ सडक अबरुद्ध भएको छ । बास्कोटा चोकदेखि नै बाटो अबरुद्ध भएको छ भने अहिले डोजरको सहायताले अबरुद्ध बाटो खुलाउने प्रयास भइरहेको छ ।
भदौरेमा चारको मृत्यू
कास्कीको भदौरे तामागीमा अविरल वर्षापछि आएको पहिरोले ४ जनाको ज्यान गएको छ । राति १२ बजे आएको पहिरोले घर पुरिँदा भदौरे तामागी-५ डुँडे फाँटकी गौरी पराजुली र उनका छोरा करण पराजुलीको ज्यान गएको हो । अन्य मृतकको सनाखत हुन बाँकी छ । अन्य १४ जना घाइतेको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार स्थानीय शान्ति पराजुली, विमला विक, सविना पराजुली, विनोद विक, नम्रता पराजुली, निरु पराजुली, अञ्जनी पराजुली, तुलसी पराजुली, खुशी विक, कमल सुनार, अन्तिम सुनार, सुस्मा सुनार र उत्सव सुनार गम्भीर घाइते भएका छन् । उनीहरुको उद्धार गरेर उपचारका लागि पोखरा ल्याउने प्रयास भइरहेको छ ।
भदाैरेमा पहिरोले ५ घर बगाएको छ भने २० घरमा क्षति पुगेको कास्की प्रहरीले जनाएको छ । त्यस्तै भदौरे तामागीसँगै जोडिएको चापाकोटमा दुर्इवटा घर पहिरोले बगाएको छ ।
चापाकोट-९ नौविसे र घाँटीछिनामा १/१ वटा घर पहिरोले बगाएको प्रहरीले बताएको छ । पहिरोले पामे-ठूलाखेत बाटोमा पर्ने पुल बगाउँदा उद्धारमा कठिनाइ भएको छ । प्रहरीले डोरीको सहायताबाट उद्धार गरिरहेको छ ।
विहान चार बजे घटनास्थलमा गएको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली अहिले घटनास्थलमा पुगेर उद्धारमा खटिएको छ ।
घटनास्थल पोखराको लेकसाइडबाट १६ किलोमिटर पश्चिममा पर्छ ।




Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.