सुनको मूल्य घटेपछि गहना किन्ने बढे (सुनको भाउ पाँच वर्षयताकै सस्तो)
Advertisement
सिन्धुलीमाडी: सिन्धुलीको भद्रकाली-७ पचभैयाँकी २७ वर्षीया रोशनी बम्जनले बुधबार ४८ हजार सात सय रुपैयाँमा एक तोलाको सिक्री अडर गरिन्।
बुधबारे हाट भर्न जिल्ला सदरमुकाम माढी बजार आइपुगेकी बम्जनले गत आइतबारदेखि बजारमा सुनको भाउँ ओरालो लागेको थाहा पाएपछि स्थानीय सुन व्यापारीसँग गएर शिक्री अर्डर गरेकी हुन्।थोरै पैसा दिएर अर्डर दिएकी बम्जनले सुनको भाउँ घटेको बेला अलिकती भएपनि सुन जोडी राखौंन भनेर अर्डर गरेको बताइन्। (सुनको भाउ पाँच वर्षयताकै सस्तो)
'सुनको सिक्री लगाउँने रहर पनि थियो, भाउँ पनि घटेछ, बजार आएको मौका पारेर अर्डर गरेकी हुँ,' उनले भनिन्। बाँकी पैसा गाउँघरमा ऋण खोजेर पनि तिर्ने सोच बनाएकी छु' उनले भनिन्।
कमलामाई नगरपालिका ४ जरायोटारकी टिकामायाँ विकले पनि आठ आनाको झुम्का अर्डर गरेकी छिन्। 'कान बुच्चै भएको थियो, उनले भनिन्, ‘सुनको भाउँ घटेको थाहा पाएर बुधबारनै बजार गएर दश हजार रुपैयाा बैना दिएर चारचार आनाको झुम्का बनाईदिन भनेकी छु।'
बम्जन र विक जस्ता जिल्लाका थुप्रै महिला तथा पुरुषहरुले मुल्यमा गिरावट आएपछि सुनका गरगहना अर्डर गर्ने र किन्ने गर्न थालेका छन् । भुकम्पपछि सुन व्यावसायमा कमि आएपनि मुल्य घटेपछि कारोबार एक्कासी बढेको सागर सुनचाँदी पसलका सञ्चालक कृष्ण विक बताउँछन्।
उनका अनुसार अहिले जिल्लामा सुन पसलमा अडर गर्ने सुन खरिद गर्नेहरुको भिड थेगी नसक्नुको छ। अन्य दिनको तुलनामा चारदिनदेखि यता जिल्लाका सुन पसलहरुमा दोब्बर कारोबार हुने गरेको उनको भनाई छ।
गत आइतबारबाट ओरालो लागेको सुनको भाउँ बुधबारसम्म आइपुग्दा प्रति तोलामै झण्डै पाँच हजार रुपैयाँले गिरावट आएको छ। बुधबार सिन्धुलीमा प्रतितोला ४८ हजार सात सय रुपैयाँमा सुनको कारोबार भएको सिन्धुली सुनचाँदी व्यवसायी संघका कोषाध्यक्ष पुर्णप्रसाद विकले जनाए।
यो गत पाँच वर्षयतकै न्यून मुल्य हो। चाँदी ६ सय ७५ रुपैयाँ तोलाको कारोबार भएको छ।'सुनका गहना अर्डर गर्नेहरुको अर्डर लिन पनि भ्याइनभ्याई छ,' कालिका जेलर्शका सञ्चालक समेत रहेका कोषाध्यक्ष विकले भने, 'मुल्यमा कमी आएसँगै अहिले जिल्लामा दैनिक एक किलोबढी सुनको कारोबार हुने गरेको छ।'
मुल्य बढेका बेला सुन विक्री गर्नेहरु पनि अहिले मुल्य घटेपछि खरिद गर्न आउँन थालेको उनको भनाई छ। अन्तराष्ट्रिय बजारमा अमेरीकी डलरको भाउँ बढ्दा र सुनको मुल्यमै कमि आउँदा नेपालमा पनि यसको मुल्यमा गिरावट आएको हो।
एक वर्ष अघिमात्र झण्डै ६५ हजार तोलामा कारोबार भएको सुनको मुल्यमा एकाएक गिरावट आएपछि सुन खरिद गर्नेहरुको संख्या ह्वात्तै बढेको छ।
Advertisement